फिरोज सिद्दिकी
लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमिटीको आयोजनामा आज लहानमा मोटरसाइकल र्याली सम्पन्न भएको छ। र्याली लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भई नगरका विभिन्न मार्ग हुँदै भोटियाटोल चोकमा पुगेर कोणसभामा परिणत भएको हो।
र्यालीका सहभागीहरूले प्रतिगामी षड्यन्त्र मुर्दावाद, विघटित प्रतिनिधिसभा पुनःस्थापना गर, तोडफोड, लुटपाट तथा आगजनीमा संलग्न अपराधीलाई कारबाही गर तथा २३–२४ गतेका घटनाको निष्पक्ष छानबिन गर लगायतका नाराहरू लगाउँदै परिक्रमा गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का केन्द्रीय सदस्य गंगाप्रसाद यादवको उपस्थिति रहेको थियो। सो अवसरमा मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी, लहान नगरपालिकाका पूर्व मेयर मुनि साहलगायत अन्य स्थानीय नेतृत्त्व तथा कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो।
र्यालीको प्रमुख आतिथ्य नेकपा (एमाले) लहान नगर कमिटीका अध्यक्ष राजकुमार साहले गरेका थिए भने कार्यक्रमको उद्घोषण नगर सचिव बिरेन चौधरीले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले हाल देखिएका राजनीतिक अस्थिरता, अराजकता र सार्वजनिक सम्पत्तिमा भएको तोडफोडप्रति आपत्ति जनाउँदै संविधानको रक्षा, राजनीतिक स्थिरता, सुशासन र विकासको आवश्यकता औँल्याउदै हालै भएका घटनाको निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्ने माग गरेको थियो।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A