फिरोज सिद्दिकी
लहान । लिटिल स्टार सेकेन्डरी स्कुल लहानका चार जना विद्यार्थी एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल भएपछि विद्यालयले उनीहरूलाई विशेष सम्मान गरेको छ। विद्यालयका अध्यक्ष पम्मी साह र फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको उपस्थितिमा आयोजित एक समारोहका बीच विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुने विद्यार्थीहरूमा रन्जित राम, अविनाश यादव, विवेक यादव र निराजन यादव रहेका छन्। यी विद्यार्थीहरू एमबिबिएस प्रवेश परीक्षामा फुल स्कलरशिपमा उत्कृष्ट नतिजा ल्याएर चिकित्सा शिक्षा अध्ययनको अवसर प्राप्त गर्न सफल भएका हुन्।

कार्यक्रममा बोल्दै फाउन्डर प्रिन्सिपल चौधरीले विद्यार्थीहरूको यो उपलब्धि विद्यालय, शिक्षक, अभिभावक तथा स्वयं विद्यार्थीहरूको मेहनत र समर्पणको परिणाम भएको बताए। उनले विद्यालयले सदैव गुणस्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्यलाई प्राथमिकता दिने पनि उल्लेख गरे।
सम्मानित विद्यार्थीहरूले विद्यालयको प्रेरणा, शिक्षकहरूको सहयोग र परिवारको साथका कारण आफूहरू लक्ष्यमा सफल भएको बताएका छन्। कार्यक्रममा शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A