लहानमा माघे संक्रान्ति भव्य रूपमा मनाइदै, थारु संस्कृति झल्काउने मेला–महोत्सवले पायो रौनक

  • माघ २, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहानमा माघे संक्रान्तिको अवसर यस वर्ष पनि उत्साह, उमंग र सांस्कृतिक रौनकसँगै मनाइएका छन्। थारु समुदायको प्रमुख पर्व मानिने माघे संक्रान्तिलाई लक्षित गर्दै लहान नगरपालिकाका विभिन्न वडाहरूमा माघी महोत्सव तथा परम्परागत मेलाहरूको आयोजना गरिएको हो।

चुरे क्षेत्रदेखि तराईका बस्तीहरू झकिझकाउ सजिए, परम्परागत भेषभूषामा सजिएका थारु महिलाजत्तिहरूको र्‍याली र सांस्कृतिक झाँकीले लहान बजार आज एकापट्टि सांस्कृतिक गलैँचा बनेर फैलिएको अनुभूति गरायो।

लहान नगरपालिका–९ खुट्टीपारीस्थित लहानगोठ माघी मेला महोत्सवको औपचारिक उद्घाटन नगरप्रमुख महेशप्रसाद चौधरीले गरे। प्रमुख आतिथ्य रहेका नगरप्रमुख चौधरीले थारु समुदायको संस्कृति, पहिचान र परम्परालाई संरक्षण गर्दै नगरमै सम्बन्ध, सहकार्य र सद्भाव बढाउने अवसरको रूपमा माघी महोत्सव महत्वपूर्ण रहेको बताए।

स्थानीय वातावरण रमणीय, आकर्षक र उत्साहपूर्ण बनेको महोत्सवमा थारु समुदायको पहिरन, नृत्य, गीत, बाजागाजा र परम्परागत विधागत सिकाइको प्रदर्शन गरिएको थियो। माघी महोत्सव दुई दिनसम्म चल्ने बताइएको छ।

लहान ९ का वडा अध्यक्ष घुरण चौधरीले माघे संक्रान्तिलाई थारु समुदायले नयाँ वर्ष, नूतन ऊर्जा, सामाजिक एकता र सांस्कृतिक गौरवको दिनका रूपमा मान्ने गरेको बताए। लहानका माघी महोत्सवहरू परम्परा, पहिचान र सामुदायिक सहअस्तित्वको संवाहकका रूपमा विकसित भइरहेको उनको भनाई थियो ।

श्री लहानगोठ माघी मेला महोत्सवका संयोजक अमृतलाल चौधरीले थारु समाजको गौरवपूर्ण इतिहास, परम्परा र संस्कृतिलाई भावी पुस्ताका लागि अभिलेखित राख्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताए। स्वागत मन्तव्यमा समाजसेवी नेपाली साह, ज्वाला प्रसाद चौधरी र महेन्द्र ठाकुरले माघे संक्रान्तिले सामाजिक एकता, सहकार्य र खुशी बाँड्ने परम्परालाई बलियो बनाएको उल्लेख गरे।

त्यस्तै, लहान–१५ बानोस्थित झौवाई खोल्सीसहित आसपासका बस्तीहरूमा पनि विगतकै परम्परा निरन्तरतासहित मेला चलिरहेको छ। वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार प्रत्येक वर्ष माघ १ गते थारू संवत् २६४९ को सन्दर्भ पारेर यहाँ माघी महोत्सव मनाइन्छ । विशेष गरी थारू संस्कृति, भेषभूषा, खानपान र परम्परागत जीवनशैली प्रचारप्रसारका लागि यो महोत्सव प्रभावकारी माध्यम बनेको उनले बताए।

झौवाई खोल्सी क्षेत्रको महोत्सवमा थारू समुदायका महिला पुरुष, युवायुवती, बालबालिका परम्परागत पहिरनमा सजिएर लहान बजारसम्म र्‍यालीसहित आएका थिए। र्‍यालीलाई लहान नगरप्रमुख महेशप्रसाद चौधरी र नेपाली कांग्रेस सिराहाका उपसभापति सुनीलकुमार महतोले स्वागत गरेका थिए।

महोत्सवमा थारू समुदायको परम्परागत परिकार बगिया, घुँगी, सिध्रा (माछाको सुकुटी), ढिँडो, चिउरा, मुरहीको लड्डुसहित दर्जनौँ खानेकुराको प्रदर्शनी गरिएको छ। थारू महिलाहरूले बनाएका स्थानीय परिकारहरू मेला आउने दर्शकका लागि मुख्य आकर्षण बनेका छन्।

यस वर्ष लहानकै विभिन्न वडाहरू ९ खुट्टीपारी, १५ बानो, २२ बर्छवासँगै नजिकैका स्थानीय तहहरू धनगढीमाई, नरहा, सखुवानन्कारकट्टी आदिमा पनि माघी महोत्सव उल्लासपूर्वक मनाइएको छ।

सखुवानन्कारपट्टी–३ सरहञ्चिया, धनगढीमाई–४ सन्तनगर, नरहाका बस्तीहरूमा आयोजित मेला–महोत्सवमा चुरे क्षेत्रका बासिन्दादेखि तराईका स्थानीयसम्मको उत्साहजनक सहभागिता देखिएको छ।

लहानमा मनाइएको यस वर्षको माघे संक्रान्तिले थारु समाजको सांस्कृतिक धरोहर जोगाउने मात्र होइन, सम्पूर्ण समुदायबीच सद्भाव, भाईचारा र एकताको सन्देश फैलाएको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन्।

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A