लहान । सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालबाट बेपत्ता भएपछि स्थानीय आक्रोशित बनेका छन्। शव हराएको विरोधमा पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा आफन्त र स्थानीयले सडक जाम गरेका हुन्।
शुक्रबार आफ्नै घरमा पासो लागेको अवस्थामा भेटिएकी निशालाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक मृत्यु मुचुल्कासहित पोष्टमार्टमका लागि लहान अस्पताल पठाएको थियो। बुबा आमा उपचारका लागि भारतमा रहेकाले आज मात्र आफन्त अस्पताल पुगेका थिए, तर शव फेला परेन।
किशोरी मृत्यु हुनुअघि उनी लहानका एक युवकको घरमा बसेको र उनीसँग प्रेमसम्बन्ध रहेको स्थानीयको दाबी छ। घर फर्किएलगत्तै पासो लागेको भेटिनु र अस्पतालमै शव हराउनु दुवै घटना रहस्यमय भएको आफन्त तथा स्थानीयको आरोप छ।
स्थानीय शिक्षक समर भण्डारीका अनुसार, पोष्टमार्टम नगरी शव हराउनु अस्पताल प्रहरी दुवैको गम्भीर लापरवाही हो। वडा अध्यक्ष धनप्रसाद लामाले भोलि १० बजेसम्म शव सुरक्षित रूपमा नआए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
घटनाबारे बुझ्न प्रहरी र अस्पताल प्रमुखसँग सम्पर्क गर्दा फोन नउठेको अथवा अफ रहेको बताइयो। शव हराएसँगै परिवार र स्थानीयले छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A