राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक प्रयोगशालाजस्तै बनेको छ । यहाँ चुनाव जित्नेभन्दा पनि हार्ने इतिहास दोहोरिने गरेको छ । २०५६ सालयता कुनै पनि उम्मेदवारले लगातार जित निकाल्न नसकेको यो क्षेत्र यसपटक पनि बहुकोणीय प्रतिस्पर्धाका कारण अत्यन्तै अनिश्चित देखिएको छ ।
यो क्षेत्रको चुनावी चरित्र नै मतदाताको असन्तोष, परीक्षण र परिवर्तनसँग जोडिएको छ । २०४८ र २०५१ मा गजेन्द्रनारायण सिंहले जितेपछि २०५६ मा १७ मतले पराजय भोग्नुपर्यो । त्यसयता मतदाताले पटक–पटक नयाँ अनुहार र नयाँ दललाई अवसर दिँदै आएका छन् । यही प्रवृत्तिले २०७४ मा उपेन्द्र यादव र २०७९ मा डा. सिके राउतलाई जित दिलायो । तर जित निरन्तर बन्न सकेन ।
२०७९ मा दोब्बर मतान्तरले पराजित भएपछि उपेन्द्र यादवले यसपटक क्षेत्र परिवर्तन गरेका छन् । तर यादव नहुँदा पनि सप्तरी–२ को प्रतिस्पर्धा सहज भने छैन । डा. सिके राउत दोहोरिएर मैदानमा छन् । उनकै दलबाट सरकारको नेतृत्व गरिसकेका सतीशकुमार सिंह भने स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका छन् । यसले जनमत पार्टीको मत आधारमै प्रभाव पार्ने सम्भावना देखिन्छ ।
त्यसैगरी जनमतका पूर्वप्रवक्ता डा. शरतसिंह यादव, जसपा नेपालबाट पूर्वमन्त्री उमेशकुमार यादव, नेपाली कांग्रेसबाट रामकुमार यादव, एमालेबाट मोहम्मद जियाउल हकसहित ३४ जना उम्मेदवार मैदानमा छन् । मत विभाजनको सम्भावना यसपटक झन् बलियो देखिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार सप्तरी–२ मा दलभन्दा पनि उम्मेदवारको छवि, विगतको व्यवहार र स्थानीय सरोकार निर्णायक बन्दै आएको छ । मतदाता सजिलै भावनामा बग्नेभन्दा पनि परीक्षण गरेर मतदान गर्ने भएकाले दोहोरिएर जित्न नसक्ने इतिहास बनेको उनीहरूको बुझाइ छ ।
अहिले सबै उम्मेदवार गाउँ–टोल केन्द्रित संवाद, भेटघाट र छलफलमा व्यस्त छन् । तर मतदाताको मन अझै खुलिसकेको छैन । यही मौनता नै सप्तरी–२ को चुनावी संकेत मानिन्छ । विगतको इतिहास र वर्तमानको बहुकोणीय प्रतिस्पर्धाले हेर्दा, यस क्षेत्रको परिणाम यसपटक पनि अन्तिम क्षणसम्म पेचिलो रहने निश्चितजस्तै देखिएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A