काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ कम्युनिस्ट नेता झलनाथ खनाल ले संयुक्त राज्य अमेरिका र इजरायल ले इरान माथि गरेको संयुक्त सैनिक आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सहित उच्च पदस्थ अधिकारीहरूको हत्या भएको घटनाप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
खनालद्वारा जारी वक्तव्यमा उक्त घटना मानवअधिकारको ठाडो उल्लंघन, मानवीय विवेकको परित्याग तथा अन्तर्राष्ट्रिय कानुनको खुल्लमखुल्ला उल्लंघन भएको उल्लेख गरिएको छ। एक सार्वभौम राष्ट्रका सर्वोच्च नेताको हत्या गरिनु अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तविपरीत रहेको उनको भनाइ छ।
उनले यो आक्रमणलाई ‘नग्न र जङ्गली’ कदमको संज्ञा दिँदै यसले विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने खतरा बढाएको बताएका छन्। विशेषगरी साना तथा विकासोन्मुख मुलुकहरूको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्तामाथि यसबाट गम्भीर प्रभाव पर्ने उनले चेतावनी दिएका छन्।
खनालले यस्तो साम्राज्यवादी र गैरकानुनी आक्रमणविरुद्ध विश्व समुदाय मौन बस्न नहुने बताएका छन्। उनले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई एकताबद्ध भई हिंसात्मक कदमको विरोध गर्न आह्वान गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A