फिरोज सिद्दिकी
लहान । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत लहान नगरपालिकामा संगठनात्मक गतिविधि तीव्र बनाएको छ। अभियानअन्तर्गत नगरका १८ वटा वडामा पार्टीका बैठक तथा भेला सम्पन्न भएका छन्।
लहान नगरपालिका वडा नं. १, ४, ५, ६, ७, ९, ११, १२, १३, १५, १६, १७, १८, १९, २०, २१, २२ र २४ मा वडा कमिटीका बैठक तथा भेला सम्पन्न भएको एमालेले जनाएको हो।
सम्बन्धित वडा कमिटीका अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न बैठक तथा भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं अभियानका लहान नगरपालिका इन्चार्ज मुनि साह सुडी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
बैठक तथा भेलामा पार्टीको संगठनात्मक अवस्था, वडा तहमा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने तथा कार्यकर्ता परिचालनलगायतका विषयमा छलफल गरिएको जनाइएको छ। अभियानमार्फत वडा तहसम्म संगठनलाई थप सक्रिय बनाउँदै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्ने लक्ष्य लिइएको लहान नगरपालिका इन्चार्ज सुडीको भनाइ छ।
यसैबीच, अभियानकै क्रममा अखिल नेपाल महिला संघ (अनेमसंघ) लहान नगरको अधिवेशनसमेत सम्पन्न भएको छ। २०८३ साल भदौ २५ गते सम्पन्न अधिवेशन सितल चौधरीको अध्यक्षतामा तथा सरियार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
अधिवेशनमा महिला संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने तथा स्थानीय तहमा महिलाको सहभागिता र संगठनात्मक भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
एमालेले ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत लहानका बाँकी वडाहरूमा पनि संगठनात्मक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A