फिरोज सिद्दिकी
लहान । विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको विवाहमा सहयोग गर्ने उद्देश्यसहित सामाजिक अभियान सञ्चालन गर्दै आएको युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपाल, लहानले एक विपन्न परिवारलाई छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ।
सोसाइटीले लहान नगरपालिका–१८, शोभापुर निवासी मोहम्मद किस्मतलाई उनकी छोरीको विवाहका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेको हो। छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन आर्थिक समस्या भएपछि किस्मतले सहयोगका लागि युथ मुस्लिम वेल्फेयर सोसाइटीसँग आग्रह गरेका थिए।
सोही आग्रहअनुसार सोसाइटीका अध्यक्ष इसरायल सिद्दिकीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा आज किस्मतलाई नगद सहयोग हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण गर्दै सोसाइटीका अध्यक्ष इसरायल सिद्दिकीले विपन्न परिवारका छोरीहरूको विवाहमा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले संस्थाले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए। उनले सहयोगले विवाहको तयारीमा केही सहजता पुग्ने विश्वास व्यक्त गर्दै नवविवाहित जोडीको सुखद दाम्पत्य जीवनका लागि शुभकामना दिए।
“आर्थिक अभावका कारण कुनै पनि परिवारले छोरीको विवाह गर्न कठिनाइ भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष सिद्दिकीले भने, “समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सकेसम्म सहयोग गर्नु हाम्रो सामाजिक दायित्व पनि हो।”
युथ मुस्लिम वेल्फेयर सोसाइटीले यसअघि पनि विपद्, गरिबी तथा आर्थिक अभावमा परेका परिवारलाई विभिन्न किसिमका सहयोग गर्दै आएको जनाएको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, राहत तथा विपन्न परिवारको सहयोगलाई प्राथमिकतामा राख्दै आएको छ।
सोसाइटीका अध्यक्ष सिद्दिकीले आगामी दिनमा पनि आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको विवाहमा सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले सहयोग गर्न सक्ने व्यक्ति तथा संस्थालाई पनि यस्ता सामाजिक कार्यमा जोडिन आग्रह गरेका छन्।
छोरीको विवाहका लागि आर्थिक सहयोग प्राप्त भएपछि किस्मत परिवारले सोसाइटीप्रति आभार व्यक्त गरेको छ। आर्थिक अभावका कारण विवाहको तयारीमा समस्या भइरहेका बेला प्राप्त सहयोगले परिवारलाई ठूलो राहत मिलेको परिवारको भनाइ छ।
विपन्न परिवारका छोरीहरूको विवाहमा सहयोग गर्ने यस्तो पहलले आर्थिक कठिनाइमा रहेका परिवारलाई प्रत्यक्ष राहत पुर्याउनुका साथै समुदायमा सामाजिक सहकार्य र मानवीय सहयोगको भावना बलियो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको जनाइएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A